ताजा समाचार


किसानलाई यस्तो बाख्रा बाँड्न खोजेपछि भाँडभैलो

नेप्लिज संवाददाता २८ जेष्ठ २०७८, शुक्रबार ०८:११ (1 महिना अघि)    २३४ जनाले पढ़िसके

रुकुम पश्चिम । वितरणको लागि ल्याएका बाख्रा मापदण्ड विपरितका भएपछि रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ । आर्थिक वर्ष ०७७∕०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याईएका मध्य २६ ओटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले जनाएको छ ।

बाख्रा खरिदका लागि गरिएको टेन्डर अनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालन योग्य तथा उत्पादन योग्य नभएका र किसानलेसमेत समेत लिन अस्विकार गरेकोले फिर्ता पठाईएको मुसिकोट नगपालिकाले जनाएको छ ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शुसिल गौतमका अनुसार ठेकेदारले ल्याएका पहिलो लटका ५६ ओटा बाख्रा मध्ये २६ ओटा बाख्रा फिर्ता पठाईएको हो ।

नगरपालिकाले यहाँका बिभिन्न योजना तथा कार्यक्रमहरुको प्रभावकारीता बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्धेश्य विपरित हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने सामाजिक विकास समितिका संयोजक गौतमले जनाउनुभयो ।
संघीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसान किसानलाई व्यवसायीक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्धेश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो ।

यस बर्ष १ सय ५० ओटा बाख्रा वितरणको कार्यक्रम रहेकोमा ठेकेदार कम्पनीले पहिलोपल्ट ५६ ओटा बाख्रा ल्याएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताए ।

बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण हुने उनले बताए । पहिलो लटमा ल्याएका मध्य २६ ओटा बाख्रा कोहि साना, कोहि बुढो भएका र मापदण्ड भित्रका नभएकोले पुनः किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदरलाई नै फिर्ता गरिएको बताए ।

बाख्रा खरिद र वितरणका लागि केयरफम नेपाल प्रा.लि., नेपालगञ्ज ले सम्झौता गरेको थियो । यसका लागि संघीय सरकार र मुसिकोट नगरपालिकाले सयुक्त बजेटबाट १८ लाख ४२ हजारको टेण्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधि समेत व्यबस्थाको लागि बजेट बिनियोजन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

बिरामीले निःशुल्क उपचारदेखि खानासम्म पाउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचार लागि पाउने सेवाको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको निःशुल्क सेवा विवरणमा सङ्क्रमितको उपचारदेखि खानासम्म निःशुल्क अस्पतालले सेवा दिनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतात सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कतिपय अस्पतालले सङ्क्रमितको उपचारमा शुल्क लिएको पाइएकाले निःशुल्क उपचार सहितको सेवा पाउने विवरण सार्वजनिक गरेको बताए ।

उनका अनुसार सङ्क्रमितको निःशुल्क उपचारसँगै सामान्य ११ प्रकारका रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधीहरू, बिरामीका शय्या शुल्क र खाजाखानासहित चार छाक अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ ।

यस्तै आइसियुमा रहेका बाहेकको बिरामीमा पिसीआर, रेम्डेसिभर, प्लाज्माथेरापी, सिटी स्क्यान र हायर एन्टिवायोटिक्सको भने बिरामीले शुल्क तिर्नुपर्ने हुन्छ ।

मन्त्रालयले उल्लेख गरिएका विवरण बिरामीले नपाएको खण्डमा कुनै पनि अस्पताललाई शोधभर्ना उपलब्ध नगराउने, निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाइने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानूनअनुसार अस्पताललाई कारवाही गर्ने प्रवक्ता डा पौडेलले बताए ।

सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई रु तीन हजार ५०० प्रतिदिन, मध्यम बिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई रु १५ हजार प्रतिदिन तोकेको छ ।

सोहीअनुसार सङ्क्रमितको उपचार गर्ने अस्पताललाई मन्त्रालयले सोध भर्ना दिने गरेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पतालाई कारवाही गर्ने बताएको तर मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ ।

नेपालमा अहिलेसम्म छ लाख एक हजार ६८७ जना सङ्क्रमित, पाँच लाख १५ हजार ५९१ निको र आठ हजार २३८ को सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

निषेधाज्ञामा जारी छ निर्माणका काम

मर्मत अभावमा जीर्ण बनेका बागलुङ नगर क्षेत्रका सडकको सुधारलाई तीव्रता दिइएको छ । सडक बोर्ड नेपाल र नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत सुधारको काम भइरहेको हो ।

निषेधाज्ञाबीच पहिलो चरणमा सदरमुकामभित्रका सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र १४ वटै वडाका पक्की सडकमा मर्मत सुधारको काम हुने इञ्जीनियर मनोज शर्माले बताए ।

उहाँका अनुसार यस योजनाका लागि बोर्डको रु ९२ लाखमा नगरपालिकाको ३५ प्रतिशत थप लागत परेको छ । बोलपत्रमार्फत आरएस निर्माण सेवाले कामको जिम्मा पाएको थियो ।

यसअघि कालोपत्र भएर पनि भत्केका, खाल्डाखुल्डी परेका सडकको मात्र मर्मत गरिने निर्माण व्यवसायी राजिन खड्काले बताए ।

वडा नं २ को अदालतचोकबाट–धवलागिरि अस्पताल र गोदामघरबाट सिर्जनाटोलसम्मको सडक कालोपत्र भइसकेको छ । बेलैमा मर्मत नहुँदा ती सडक जीर्ण बनेका थिए ।

कालोपत्र भत्केर सडकभरि खाल्डैखाल्डा थिए । गोल्डेनगेट चोक, ट्राफिक चोकको घुम्तीबाट मगर सङ्घको कार्यालय जोड्ने सडक पनि मर्मतकै चरणमा छ ।

गत वर्ष भूपि शरेचनचोक–किरानाटोल, धवलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटबाट गोल्डेनगेट चोक र वीरेन्द्र–ऐश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको थियो ।

सडक विस्तारपछि घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुट्कारा मिलेको छ ।

सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहजउन्मुख छ । वडा नं ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना महामारीका कारण जारी निषेधाज्ञाबीच पनि सार्वजनिक निर्माणका काम नरोकिएको बताए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत गहतेबाट बोक्सेको खाल्डोसम्म सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको उनको भनाइ छ ।

उक्त योजनाका लागि रु ५० लाख बजेट छ । सडक मर्मत सुधार योजनाले वर्षेनी निरन्तरता पाएपछि बागलुङ बजारले क्रमशः मुहार फेर्दैछ । बजार व्यवस्थापन र यसको सौन्दर्यीकरणमा नगरपालिकाले लगानी बढाउँदै लगेको छ ।

जिल्लाका अन्य स्थानीय तह पनि यतिबेला चालु योजनाको कार्यान्वयनसँगै आउँदो आवका लागि योजना छनोटको तयारीमा जुटेका छन् ।

महामारीका कारण बस्तीस्तरमा पुगेर तर्जुमा गर्न नसकिने भएपछि वडा कार्यालयहरूले फोन या अरु माध्यमबाट योजना टिपाउन÷पठाउन आग्रह गरेका छन् । असार १० गते सबै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस