ताजा समाचार


मध्यरातमा प्रधानमन्त्री ओली शीतलनिवास छिरे, राष्ट्रपति भण्डारीसँग २ घण्टा बसेर फर्किए

नेप्लिज संवाददाता २७ जेष्ठ २०७८, बिहीबार ०६:२२ (1 महिना अघि)    २१८ जनाले पढ़िसके

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको किनारा सर्वोच्च अदालतमार्फत किनारा लाग्दै गर्दा बुधबार राति प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको हो ।

संसद्‌बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको छ।

आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले बुधबार साँझ करिब २ घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका शीतल निवास स्रोतले जनाएको छ।

साँझ साढे ७ बजे शीतलनिवास छिरेका ओली ९ बजेर ५५ मिनेटमा शीतल निवासबाट बाहिरिएका थिए। ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गरेकी थिइन्।

संविधानको धारा ७६ को उपधाारा ५ अनुसार प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित दाबी गर्दासमेत त्यसलाई अस्वीकार गरेर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई सदर गरेकी थिइन् ।

सभामुखले प्रमलगायत प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लागेका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ ।

समसामयिक विषयमा छलफलका लागि उहाँहरुलाई बोलाइएको बताइएको छ । बैठक अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस्

सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् ।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

उनले वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको बताएका छन् ।

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको र पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उहाँले उल्लेख गरे ।

“महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको अवगत गराउँदै उहाँले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताउनुभएको छ ।

सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका सदस्यलाई कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान गरेका छन् ।

उनले कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गरेका छन् । साथै उहाँले कोभिड–१९ को संक्रमणबाट निधन हुनुभएका सबैको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस