ताजा समाचार


अबको लकडाउन ‘लुजडाउन’ को शैलीमा, यसरी हुँदैछ मोडालिटी परिवर्तन

नेप्लिज संवाददाता २५ जेष्ठ २०७८, मंगलवार ०६:०३ (1 महिना अघि)    ३२० जनाले पढ़िसके

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परिमार्जन गरिने जानकारी दिएका छन् । ‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने ।

गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् ।

गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ ।

वर्षयाम सुरु भएपछि कृषि कार्यलाई समेत खुला गर्न सरकारले निषेधाज्ञा ‘मोडालिटी’मा परिवर्तन गर्न लागेको हो । तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् ।

यसैगरी, सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, व्रतबन्ध, सभा, गोष्ठी गर्न अझै केही समय रोक लगाइनेछ । सार्वजनिक यातायातलाई केही समय बन्द नै गर्ने सरकारको योजना छ ।

तर, अवस्था हेरेर निजी सवारी साधन भने केही समयपछि जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी छ । सार्वजनिक यातायातका साधन सञ्चालन विषयमा भने यातायात व्यवसायी र भौतिक मन्त्रालयसँगसमेत समन्वय गरेर अघि बढ्ने गृह प्रवक्ता दाहालले जानकारी दिए ।

सार्वजनिक सवारी सञ्चालनका लागि ती निकायसँग नीति माग्ने सरकारी तयारी छ । तर, तत्काल सवारी साधन सञ्चालमा लगाइएको रोक खुल्ने छैन । राजधानी दैनिकबाट ।

होम डेलिभरी नरोक्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कोभिड –१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,“सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइलगायतका साधनको प्रयोग गरी खरीदबिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।”

बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीदबिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।

नागरिकको जीवनरक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ

स्वास्थ्य तथा जनसङख्यामन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताउनुभएको छ ।

मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्र्ने जानकारी दिनुभयो । निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसंगको छलफलबाट टुङ्ग्याइने उहाँले बताउनुभयो ।

“हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तराष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौ ” उहाँले भन्नुभयो, “ हामी अध्ययनमा सफल भयौ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनंसंरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौ ।”

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताउनुभयो । “मानिस जन्मनसाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै बिधि हामीले बनाउछौ, ” उहाँले भन्नुभयो , “ स्वास्थ्य परिचय पत्र अनुसार स्वास्थ्यसंग सम्बन्धित सबै उपचार पाउने गर्दछ ।”

मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी दिनुभयो । तेस्रो लहरले बालबालिकालाई सङ्क्रमण गर्ने विज्ञले उल्लेख गरिएका छन् ।

उहाँले सातै प्रदेशमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर सहितको बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताउनुभयो । उहाँले आगामी बर्षभित्र ३९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आगामी असार भित्र वोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया बढाइने बताउनुभयो । उहाँले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो ।

उहाँले कोभिड–१९ बिरुद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा श्यया, आइसियू र भेन्टिलेटर थप गरिने समेत जानकारी दिनुभयो । मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने जानकारी दिनुभयो । यसका लागि उत्पादक मुलुकसंँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कोभिड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जानकारी दिनुभयो । उहाँले मन्त्रालयका हरेक कामलाई पारर्शी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस