ताजा समाचार


नेपाल जोर्डनसँग ३–० गोलले पराजित, प्रशिक्षक भन्छन्- पहिलो हाफको एउटा सानाे गल्तीले नतिजा फरक आयो

नेप्लिज संवाददाता २५ जेष्ठ २०७८, मंगलवार ०५:३७ (1 महिना अघि)    २५८ जनाले पढ़िसके

काठमाडौं । नेपाल जोर्डनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो । कतारमा अर्को वर्षमा आयोजना हुने फिफा विश्वकप र २०२३ मा चीनमा आयोजना हुने एसियन कपको छनोट खेलको दोस्रो चरणको जोर्डनसँगको खेलमा नेपाल पराजित भएको हो ।

नेपाली खेलाडीहरु माथि शुरुदेखि नै जोर्डनको टिम हावी भएको थियो । नेपालले पहिलो हाफमा एक गोल खाएको थियो भने दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

जोर्डनका लागि बहा फैजलले दुई गोलर यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अंक रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अंक रहेको छ ।

कुवेत सिटी स्टेडियममा जोर्डनले खेल शुरु भएको पहिलो मिनेटमै आक्रमण गरेको थियो । १६ औं मिनेटमा डिबक्सबाट किलियर गरेका थिए । १८ औं मिनेटमा पुजन उपरकोटीले किलियर गर्र्दै नेपालको खतरा टारेका थिए । यसैगरी २० औं मिनेटमा अनन्त तामाङले जोगाएका थिए ।

२३ औं मिनेटमा रोहितले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई जोर्डनका बाहा फैजल सेइफले पेनाल्टी मार्फत गोल गरेका थिए । उक्त प्रहार किपरकै साइडबार च्यापेर गोल भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै भएका विकास खवास जोर्डनविरुद्ध शुरुवाती ११ मा परेका थिए । तर, उनी २९ औं मिनेटमा घाइते भएपछि रिप्लेस भएका थिए । खवासलाई रिप्लेस गर्दै सुनिल बल मैदान प्रवेश गरेका थिए ।

कुवेतमा अहिले ४१ डिग्री सेल्सीयस तापक्रम रहेको छ । तापक्रम धेरै भएपछि नेपाली खेलाडीहरुलाई निक्कै गाह्रो भएको थियो । त्यसकै कारण खेल हार्न पुगेको नेपाली खेलाडीहरुले बताएका छन् ।

कुलिङ ब्रेकपछि भने नेपालले अलि सुधारिएको प्रदर्शन गरेको थियो । त्यसपछि नेपाली खेलाडीले जोर्डनका गोलकिपरलाई अलि व्यस्त राखेका थिए ।

दोस्रो हाफमा जोर्डनले २ गोल थपेको थियो । ४८ औं मिनेटमा बहावले फ्रि किकमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ५८ औं मिनेटमा नेपालका मनीष डाँगीले पाएको पाएको मौका खेर गएको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठले पाएको मौका सदुपयोग हुन सकेन । नेपालले अब बिहीवार अस्ट्रेलियासँग खेल्ने छ ।

 

पहिलो हाफको एउटा गल्तीले नतिजा फरक आएको प्रशीक्षकको भनाई

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा गरेको एक गल्तीले जोर्डनविरुद्धको खेलको नतिजा फरक आएको बताएका छन् । विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलपछि प्रशिक्षक अलमुताइरीले पहिलो हाफमा गरेको एक मात्र गल्तीले नतिजा फरक परेको बताएका हुन् ।

विश्वकप छनोट अन्तर्गत सोमबार भएको जोर्डनविरुद्धको खेलमा नेपाल ३–० ले पराजित बनेको थियो । पहिलो लेगमा समेत ३–० ले पराजित नेपालले दोस्रो लेगमा समेत सोही नतिजा आत्मसाथ गरेको हो ।

‘हामीले राम्रो खेल्यौ । पहिलो हाफमा एउटा मात्र गल्ती गर्यौ । त्यो गल्ती नगरेको भए सायद खेलको नतिजा फरक हुने थियो होला । हामीले गरेको गाल्ती जोर्डनका लागि उपहार जस्तै भयो ।’ प्रशिक्षक अलमुताइरीले भने ।

खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी पाएको थियो । पेनाल्टी क्षेत्रको दायाँ भागमा डिफेन्डर रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको इसारा गरेका थिए । सोही पेनाल्टीमा गोल गर्दै जोर्डनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

प्रशिक्षक अलमुलाइरीले हारको सम्पूर्ण जिम्मेवारी आफुले लिने बताएका छन् । उनले नेपाली समर्थकलाई हारको दोष खेलाडीलाई नदिन आग्रह गरेका छन् ।

उनले यस खेलमा राम्रो खेलेको दाबी गर्दै आउने खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा पनि नेपालले सन्तुलित खेल खेल्ने बताए ।

कुवेतले रक्षात्मक खेल खेल्दा पनि अष्ट्रेलियासँग ३–० को हार बेहोरेकाले भन्दै उनले आफुले त्यस्तो हार नचाहने बताए ।

 

 

 


प्रतिक्रिया दिनुहोस