ताजा समाचार


कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था गर्नतिर लागौं

अनुप बास्तोला २३ जेष्ठ २०७८, आईतवार ०७:१७ (1 महिना अघि)    २१५ जनाले पढ़िसके

काठमाण्डौ । संक्रामक रोग विशेषज्ञ एवम् टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले खेपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर मात्रै नहुने बताएका छन् । खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्ने उनको भनाई छ ।

सामाजिक संजालमार्फत उनले कोभिड निमोनिया भएको ६ देखि ७ दिनमा बिरामीलाई निकै गाह्रो पर्ने र, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न बताए । यो समय सबैले ध्यान दिनु जरुरी हुने भन्दै उनले समस्या देखा पर्ने वित्तिकै अस्पताल पुगिहाल्न आग्रह गरेका छन् ।

बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहने तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्ने भन्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।’

यस्तो छ उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै

अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् ।

तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ । यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।

टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् ।

यसको अर्थ हो, अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् । अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैंबाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।

दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।

दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।

खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६(७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।

बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।

सम्भवतस् दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।


यो पनि पढ्नुहोस्

सङ्क्रमित हुने भन्दा निको हुने बढी

पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकामा पाँच हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी निको हुनेको सङख्या आठ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा पिसिआर बिधिबाट ११ हजार ४७१ र इन्टिजेन बिधिबाट पाँच हजार ३४३ नमूना परीक्षण गरिएको थियो । यस्तै, नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६८ जनाको निधन भएको छ ।

हालसम्म कूल सात हजार ७९९ जनाको कोरोनाबाट दुःखद निधन भएको छ । हालसम्म काूल पाँच लाख ८५ हजार १०० कोरोना सङ्क्रमित भएकामा चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कूल निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ हजार १५९ सक्रिय सङ्क्रमित छन् । एक लाख ७८ हजार ६६२ जना निको भएका छन् भने एक हजार ६७६ जनाको निधन भएको छ ।

यस्तै, भक्तपुरमा तीन हजार ७६७ जना सक्रिय सङ्क्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ । ललितपुरमा पाँच हजार ११८ जना सक्रिय सङ्क्रमित रहँदा २९ हजाार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।

‘जडिबुटी मात्रा मिलाएर खाऔँ’
गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ ।

गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताउनुभयो ।

भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उहाँको भनाई थियो ।

मानिसको दैनन्दिनी, के खाने ? के नखाने ? जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ । कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउनुहुँदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने सुनाउनुभयो ।

गर्मी बढेको अहिलेको समयमा सुठो, मरिच, पिप्ला मिसाएर मुखमा राखे घाँटीको खसखस ठिक गर्ने, ज्वानु, मरिच राखेर वाफ लियो भने नाक र घाँटीमा रहेका कीटाणुलाई निकाल्न सकिने उपचार विधि छ ।

कागती र फलफूलले शरीरलाई शुद्ध गर्न काम गर्ने भएकाले यसको पनि नियमित सेवन गरिनुपर्ने सल्लाह उहाँले दिनुभएको छ । मूला, फर्सीको बीउ, आलस, मधिशे बदाम, काजुजस्ता चीजबीजको प्रयोगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।

दैनिक एक चम्चा घिउले पनि एण्टी अक्सिडेण्टका रुपमा काम गर्ने भएकाले सेवन गर्न हुने सल्लाह चिकित्सकको छ । महामारीको यो बेलामा गेडागुडीका परिकार धेरै खान सुझाव दिइएको छ ।

तुलसी, बाबरी, घोडटाप्रे, रुधिलोजस्ता जडिबुटीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । पखाला लाग्दा ज्वानु र मरिचपानीमा उमालेर जीवनजल राखी खान सकिने चिकित्सक कोइरालाले बताउनुभयो । समाजका उपाध्यक्ष महेश पराजुलीले महामारीका बेला अन्तरक्रिया नियमित रुपमा गरिने जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस