ताजा समाचार

डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो भुइँमा बिरामीको वास (भिडियो रिपोर्टसहित)

नेप्लिज संवाददाता २१ जेष्ठ २०७८, शुक्रबार ०९:३९ (3 महिना अघि)    २६४ जनाले पढ़िसके

काठमाण्डौ । जीवन बचाउन डायलाइसिस अनिवार्य छ, तर अस्पताल जान यातायात अवरुद्ध छ । बिरामीलाई अस्पताल आउन–जान केन्द्र, प्रदेश र स्थानीय तहले कुनै व्यवस्था गरेका छैनन् । दुःख झेल्दै अस्पताल पुगेका बिरामीले समयमै सेवा पाउँदैनन्, पालो पर्खनेले आराम गर्ने कुनै सुविधा नहुँदा चिसो भुइँमा सुत्न बाध्य ।

देशभरि मिर्गौलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजारले नियमित डायलाइसिस गराउँदै आएका छन् ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सार्वजनिक यातायात बन्द हुँदा मिर्गौला रोगपीडितलाई अस्पताल पुग्न समस्या भइरहेको छ ।

नवलपरासी देवचुलीका ४४ वर्षीय प्रेमबहादुर महत गत बिहीबार दिउँसो भरतपुर अस्पतालमा भेटिए । मिर्गौलाका बिरामी उनी अस्पतालको बेडमा वा कुर्सीमा होइन, भ¥याङछेउको चिसो भुइँमा सुतिरहेका थिए । अघिल्लो दिन नै अस्पताल आइपुगे पनि उनले डायलाइसिस गर्न पाएनन् ।

बिहीबार पालो पाइन्छ कि भनेर पर्खिए । तर, साह्रै थाकेपछि उनी चिसो भुइँमा पल्टिए । उनीजस्ता बिरामीका लागि आराम गर्ने ठाउँसमेत अस्पतालमा छैन ।

वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा रहँदा उनको मिर्गौलाले काम गर्न छाड्यो । नेपाल फर्किएपछि चार महिनादेखि उनी नियमित डायलाइसिस गराइरहेका छन् ।

यतिवेला कोरोनाको कहर चलिरहेकाले उनले निकै सास्ती खेप्नु परिरहेको छ । ‘आफूसँग सवारीसाधन छैन, अरूको साधन जोहो गरेर आउँदा डाक्टर निस्किसक्नुभएछ, जाने ठाउँ कतै छैन, त्यसैले यहीँ भुइँमा सुतेको छु,’ उनले भने ।

निषेधाज्ञाको कारण सार्वजनिक यातायात नचल्ने भएकाले उनको दुःख थपिएको छ । उनीजस्ता बिरामीका लागि केन्द्र, प्रदेश वा स्थानीय तहले कुनै राहतको कार्यक्रम ल्याएका छैनन् ।

भरतपुर अस्पतालको सिँढीको मार्बलमा सुतिरहेका नवलपरासी देवचुलीनिवासी ४४ वर्षीय प्रेमबहादुर महत । उनी बुधबार अस्पताल आएका थिए, बिहीबार मात्र डायलाइसिस हुने भएपछि उनले रात यही सिँढीमा काटे । यातायात र अस्पतालको अव्यवस्थाले अरू बिरामीले पनि यस्तै दुःख पाएका छन् ।

भरतपुर महानगरपालिका– ६ केसरबागकी कमला तामाङले पनि भुइँमै सुतेर सेवा लिइरहेकी छिन् । चितवन मेडिकल कलेज ९सिएमसी० मा भेटिएकी उनले भनिन्, ‘सास भएसम्म बाँच्ने आस हुँदोरहेछ, आउन–जान गाह्रो भएकाले म त १५ दिनदेखि अस्पतालमै छु ।

बेडमा बस्दा पैसा तिर्नुपर्छ, त्यसैले भुइँमै सुत्ने गरेकी छु ।’ साताको दुईपटक डायलाइसिस गराउँदै आएकी उनले पैसाकै अभावले अस्पतालमै बसेको बताइन् । ‘साथमा जम्मा दुई हजार रुपैयाँ थियो । घरमा चार वर्षकी छोरी छ । उसलाई पनि स्याहार गर्नुपर्ने हो ।

तर, आउन जान पैसा नभएकाले अस्पतालमै बस्ने गरेकी छु,’ उनले भनिन्, ‘कहिलेकाहीँ बेडमा कोही भएनन्, खाली देखेँ भने बेडमै सुत्छु, नभए भुइँ छँदै छ ।’

कमला मात्र होइन, अरू केही बिरामी पनि हप्तौँदेखि सिएमसीमै बसेर डायलाइसिस गराइरहेका छन् । नवलपरासीका २५ वर्षीय भीमबहादुर मगर एक महिनादेखि सिएमसीमा बसिरहेका छन् । ‘घर पहाडी भेगमा पर्छ, भनेको वेला अस्पताल आउन सवारीसाधन पाइँदैन,’ सातामा दुई दिन बिहीबार र शुक्रबार डायलाइसिस गराउँदै आएका भीमबहादुरले भने, ‘त्यसैले एक महिनादेखि अस्पतालमै बसेको छु ।’

गोरखाका ४२ वर्षीय कर्णबहादुर गुरुङ पनि एक महिनादेखि अस्पतालमा बसेर सेवा लिँदै आएका छन् । उनीहरूसँगै भेटिएका तनहुँ देवघाटका धनबहादुर गुरुङले पनि निषेधाज्ञाका कारण नियमित सेवा लिन समस्या भएपछि अस्पतालमै बसिरहेको बताए ।

हेटौँडा उपमहानगरपालिकाकी ४६ वर्षीया विनिता उप्रेतीलाई हरेक सोमबार र बिहीबार गरी सातामा दुईपटक डायलाइसिस गराउन उनी भरतपुर अस्पताल पुग्नुपर्छ । ‘हेटौँडामा डायलाइसिस सेवा छैन । यहाँसम्म आउन सार्वजनिक गाडी चलेको छैन, आफूसँग साधन छैन ।

त्यसैले सडकमा टिपर, ट्रक जे भेटिन्छ, जसले रोकिदिन्छ त्यही चढेर आउने गरेकी छु,’ उनले भनिन् । उनको पनि दुवै मिर्गौलाले काम गर्न छाडेको छ । गोरखाकै ४१ वर्षीय ज्ञानबहादुर थापा पनि यातायातका साधन नहुँदा समस्या भएको बताउँछन् । नयाँपत्रिका दैनिकबाट । तस्बिरः विवेक पोख्रेल


प्रतिक्रिया दिनुहोस