ताजा समाचार


मेलम्चीको पानी यसकारण बन्द भयो

नेप्लिज संवाददाता २१ जेष्ठ २०७८, शुक्रबार ०८:२३ (1 महिना अघि)    २०५ जनाले पढ़िसके

काठमाडौं । काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ ।

आयोजनाको कार्यविधि (प्रोटोकल) अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ÷छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

निर्देशक श्रेष्ठले भने, “निर्माण कम्पनीसँगको सम्झौताअनुसारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उपत्यकामा पानीको सहजताका लागि तीन महिना पानी वितरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

उनले भने, “निर्माण कम्पनीसँग भएको सम्झौताको कार्यविधिमा नै आयोजनाको अन्तिम सुरुङमा पानी पठाएर खाली गरी निरीक्षण गर्ने, क्षति भएको अवस्थामा मर्मत सम्भार गर्ने र त्यसपछि कुनै समस्या नभएमा पुनः पानी भरी वितरण गरेपछि मात्र आयोजना सफल हुन्छ ।’’ गोरखापत्र दैनिकबाट ।

याे पनि पढ्नुहोस्

सङ्खुवासभामा पनि आइसीयू

पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ । आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक रु तीन लाख अस्पताललाई उपलब्ध गराउने सम्झौता गरिएको छ । आइसीयू सञ्चालनका लागि मासिक तलब गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरी सम्झौता गरिएको हो ।

विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा दिनानुदिन मानिस कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाइरहेकाले आफूहरूले सक्ने सहयोग गरिएको छ ।” विश्वभर नयाँ भेरियन्टको भाइरसका कारण मानिसको अकालमा मृत्यु भइरहेको भन्दै कसैको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले आफूहरूले आइसीयू सञ्चालनका लागि सहयोग गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

आवश्यक जनशक्तिका लागि गुठीले छ महिनाका लागि रु १८ लाख उपलब्ध गराउने सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । जिल्ला अस्पताल सङ्खुवासभामा पछिल्लो समयमा धेरै सुधार र प्रगति भइरहेको छ ।

नयाँ–नयाँ उपकरण जडान गरिरहेको जिल्ला अस्पतालमा दाताको सहयोगमा पूर्वी पहाडी क्षेत्रमा नै पहिलोपटक आइसीयू सञ्चालन ल्याउन लागिएको अध्यक्ष शाक्यले बताउनुभयो ।

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्या सञ्चालनमा रहेको छ । सङ्खुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा आउने गरेका छन् ।

स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो ।

निवर्तमान सांसद डा सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा र औरही नगरपालिका एवं सोनमा र सम्सी गाउँपालिकाको संयुक्त पहलकदमीमा अस्पताल सञ्चालन गरिएको हो ।

अस्पतालको बिहीबार प्रदेश नं २ सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभयो । मन्त्री साहले अस्पताललाई प्रदेश सरकारको साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट तीन किलोमिटर दूरीभित्र यो अस्पताल सञ्चालन गरिएको छ । जिल्लाको सुदूरपश्चिम दक्षिणी क्षेत्रमा पहिलोपटक कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार गरिने आधुनिक सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि सर्वसाधारणले अब आफ्नै ठाउँमा उपचार पाउने आश सँगालेका छन् ।

अस्पताल सञ्चालनका लागि निवर्तमान सांसद डा यादवको संसदीय विकास कोषको रकम र पाँच स्थानीय तहले संयुक्तरूपमा रकमको जोहो मिलाएका हुन् । अस्पतालमा अत्याधुनिक शय्या, अक्सिजन सुविधासहितको उपचार र बिरामीको भोजनसहितको प्रबन्ध रहेको छ ।

जम्मा १५ स्थानीय तह रहेका जिल्लामा यसअघि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल (जलेश्वर अस्पताल), बर्दिबासस्थित बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजारस्थित स्वास्थ्यचौकीमा समेत तीन ठाउँ कोभिड–१९ अस्पताल सञ्चालनमा रहँदै आएका छन् ।

जिल्लाको सुदूर दक्षिणी पश्चिमी क्षेत्रमा नयाँ अस्पताल सञ्चालनमा आएपछि अब त्यस भेगका बिरामीले आफ्नै ठाउँमा उपचार पाउने अवस्थाले थप सहज भएको जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिक्रिया दिनुभयो ।

जिल्लामा यसपालि २०७८ वैशाख १४ गतेयता हाल बिहीबारसम्म कोभिड–१९ सङ्क्रमणले ७२ जनाको ज्यान गइसकेको छ । यस अवधिमा हालसम्म सङ्क्रमित दुई हजार ३६७ मध्ये ५२५ जना निको भएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

हाल एक हजार ७७० सङ्क्रमित छन् । यीमध्ये १० जना अस्पतालको सघनकक्षमा उपचाररत रहेका र बाँकी घरमै होमआइसोलेशनमा रहेका कार्यालयका कोभिड स्रोत व्यक्तिसमेत रहनुभएकी जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो ।

जिल्लामा महाव्याधी सङ्क्रमण छल्न गत वैशाख २२ यता निषेधाज्ञा जारी छ । पछिल्लो चौथोपटक जारी निषेधाज्ञा अवधि जेठ मसान्तसम्म कायम रहने छ ।


प्रतिक्रिया दिनुहोस