ताजा समाचार


काठमाडौंसहित विभिन्न ठाउँमा पालिएका कुखुरामा पनि देखियो नयाँ भेरियन्ट, नार्कले सुरु गर्यो अनुसन्धान

नेप्लिज संवाददाता १६ जेष्ठ २०७८, आईतवार १५:५६ (2 महिना अघि)    २२० जनाले पढ़िसके

काठमाडौं । देश कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । देशभर अहिले बन्दाबन्दीको अवस्थामा छ । यहि समयमा कुखुरा पालक किसानहरुलाई पनि एउटा खबरले निराश बनाइरहेको छ ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा पालिका कुखुराहरुमा अहिले रानिखेतको नयाँ भेरियन्टका कारण किसानहरु समस्यामा परेका छन् ।रानिखेत विरुद्धको भ्याक्सिन लगाउँदासमेत संक्रमण नियन्त्रणमा नआएपछि उनीहरु यो पेशाबाट नै पलायन हुनुपर्ने अवस्थामा पुगेको छ ।

रानिखेत रोगका विभन्न नयाँ भेरियन्टहरु भेटिएको र नार्कले यसबारे थप अनुसन्धान गरिरहेको पशु सेवा विभागले जनाएको छ । पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बताएका छन् ।

अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समितिसमेत बनेको छ ।समितिले निकाल्ने निष्कर्ष र नार्कको अन्तिम अनुसन्धानपछि मात्रै नयाँ भेरियन्टबारे थप केही भन्न सकिने प्रवक्ता ढकालले बताएका छन् ।

निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले उनको भनाइ छ । भारतलगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उनको भनाइ छ ।

अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ । रानिखेतविरुद्धको भ्याक्सिन लगाएका किसानले पालेका कुखुराहरुमासमेत यसको संक्रमण नियन्त्रणमा आउन नसकेपछि भ्याक्सिनको गुणस्तरमासमेत प्रश्न उठिरहेको छ ।

यो पनि पढ्नुहोस्

सङ्क्रमण रोक्न ‘सुक्ष्म योजना’

एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए ।

विश्वव्यापी फैलिएको कोरोना महाव्याधिले सर्वत्र त्रासदी छाएको थियो । सङ्क्रमितलाई अस्पताल ल्याउन एम्बुलेन्स चालक तयार हुन्थेनन् । कतै सङ्क्रमित देखिएमा गाउँछिमेकले नै दुरदुर गर्थे । उपेक्षामा पर्ने डरले सङ्क्रमित खुल्न डराउँथे ।

कोरोनाको दोस्रो लहर आइपुग्दा अवस्था त्यस्तो छैन । गत वर्ष भय र आतङ्क बढी थियो, सङ्क्रमण कम । अहिले महामारी भयाबह बनेको छ तर त्रास घट्दो छ । यस अवधिमा कोरोना नियन्त्रण, रोकथाम, उपचार र व्यवस्थापनमा सिङ्गो राज्य संयन्त्र लाग्यो ।

जनस्तरबाट पनि महामारीविरुद्धको लडाईंमा हातेमालो भयो, भइरहेको छ । अहिले सङ्क्रमण तीव्र छ । गाउँगाउँ फैलँदो छ । महामारीको चक्र तोड्न सामूहिक प्रयत्नको खाँचो छ । हरहालतमा सङ्क्रमण रोक्नु छ । त्यसकै लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुक्ष्म योजना’ लागू गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको कार्ययोजनामा टेकेर स्थानीय तहहरु अहिले कोरोना नियन्त्रणमा जुटेका छन् ।

गाउँ बस्तीसम्मै कोरोना सहजीकरण समूह बनाएर काम थालिएको र त्यसको प्रभावकारिताबारे अनुगमन पनि गरिने कार्यालयले जनाएको छ । कोरोनाविरुद्धको अभियानमा अहिले स्वास्थ्यकर्मीसहित स्थानीय जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, स्वयंसेवी समूहलगायत परिचालित छन् ।

कार्यालयले सातादिन अघि नै सुक्ष्म योजना ९माइक्रो प्लान० बनाएर कोरोना नियन्त्रणमा लाग्न परिपत्र गरेको थियो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले पनि सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल र समन्वय गरिरहेको छ ।

समुदायस्तरमा बनेका सहजीकरण समूहले टोलबस्तीमा पुगेर सङ्क्रमितको निगरानी गर्ने, होम आइसोलेशनमा स्वास्थ्य मापदण्ड पालना भए÷नभएको अनुगमन गर्ने, सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा सघाउने, बिरामीको अवस्था हेरेर थप उपचारका लागि अस्पताल पु¥याउन सहयोग गर्नेलगायतका कार्य गर्छन् ।

कोरोना घरघरमा पुगेको भएकाले एकअर्का सदस्यमा सर्नबाट जोगाउनु नै अहिले मुख्य चुनौती छ । होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई स्वास्थ्य सचेतना, मनोपरामर्श, आधारभूत उपचार र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीको खाँचो छ ।

गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले अझै पनि सोचेजसरी होम आइसोलेशनमा बसेका सङ्क्रमितको निगरानी र अनुगमन गर्न नसकिएको बताए ।

सङ्क्रमित आइसोलेशनमा नबसेको, स्वास्थ्य मापदण्ड पालना नगरेको, बाहिर हिँडडुल गरेको पाइएमा छिमेकीले जनप्रतिनिधिलाई खबर गर्ने गरेका छन् ।

वडाध्यक्ष भण्डारीले समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन नसकिएको बताए । गलकोट नपाले एउटा एम्बुलेन्स र दुई जीपलाई सुरक्षित तवरले सङ्क्रमित र सम्भावित सङ्क्रमित बोक्न प्रयोगमा ल्याएको छ ।

स्वाबको नमूना दिएको चार÷पाँच दिनमा बल्ल रिपोर्ट आउँदा पनि व्यवस्थापनमा समस्या निम्तने गरेको छ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा स्वाबको चाप छ ।

सीमित स्रोतसाधनका बाबजुत महामारीविरुद्ध सङ्घर्षरत स्थानीय तहका जनप्रतिनिधि पनि अहिले निर्धक्कसाथ सङ्क्रमितको घरदैलोमा पुगिरहेका देखिन्छन् ।

स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्दा सङ्क्रमित र तिनका परिवारको मनोबल बढ्छ । कतिपय जनप्रतिनिधिले औषधि, पौष्टिक आहार, स्वास्थ्य सामग्रीसमेत बाँडिरहेका छन् ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले होम आइसोलेशनमा बसेका सङ्क्रमितको नियमित निगरानी गर्नुपर्ने बताए ।

होम आइसोलेशनमै बसेका कतिपय सङ्क्रमितलाई स्वास्थ्य अवस्था जटिल बनेपछि मात्र अस्पताल ल्याउँदा बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले सुनाए ।


प्रतिक्रिया दिनुहोस