ताजा समाचार

भारतकै जस्तै नेपालका यी दर्दनाक दृष्य, जसले साराकाे मन रुवायाे (भिडियोसहित)

नेप्लिज संवाददाता ३० बैशाख २०७८, बिहीबार ०७:५२ (5 महिना अघि)    २८९ जनाले पढ़िसके

काठमाडाैं ।  दोस्रो लहरको कोरोना भाइरसको संक्रमणले भारत आक्रान्त बनिरहेको छ । हरेक दिन ४ लाखभन्दा धेरै संक्रमित थपिइरहेका छन् । विज्ञहरुले भारतमा तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने र त्यसको सामना गर्न तयार भएर बस्नुपर्ने चेतावनी दिएका छन् ।

छिमेकी देश भारतकै लयमा नेपाल पनि अघि बढिरहेको देखिन्छ । भारतमा दोस्रो लहरको संक्रमण फैलिएको केही दिनभित्रै नेपालमा पनि ज्यान गुमाउने र संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो दिनहरुमा नेपालमा हरेक दिन ५० जनाभन्दा धेरै कोरोना संक्रमितले ज्यान गुमाउने गरेका छन् ।

बाँकेको नेपालगन्ज भारतसँग खुल्ला सिमाना भएको ठाउँ हो । यहि ठाउँ हुँदै मानिसहरु नेपाल–भारत आउजाउ गर्ने गर्छन् । बाँकेको नेपालगन्जलगायत देशका विभिन्न ठाउँ अहिले कोरोनाको ‘हटस्पट’ बनिरहेको छ । आज हामी देशका विभिन्न ठाउँका कारुणिक दृश्यहरु प्रस्तुत गर्दै छौँ । जसले नेपालमा अवस्था थप भयावह बन्दै छ भन्ने प्रष्ट्याउँछ ।

घटना नम्बर १
दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोना भाइरसको संक्रमणले बाबुछोराको ज्यान गएको छ । रामग्राम नगरपालिका– ९ का ३५ वर्षका पुरुषको कोरोना संक्रमणको कारण निधन भयो । उनलाई सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरियो । तर ठाउँ अभावका कारण समयमै उपचार पाउन सकेनन् । अन्ततः मंलबार उनले कोरोनाकै कारण संसारबाट बिदा हुनुपर्यो । दुई दिनअघि मात्रै उनका बुबाको पनि कोरोनाकै कारण घरमै ज्यान गएको थियो ।

घटना नम्बर २
कोरोना भाइरस सामान्य होइन भन्ने कुरा नेपालगन्जको अर्को घटनाले प्रष्ट पारेको छ । नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका ३ सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाइमध्ये कान्छो भाइ ४२ वर्षका जहिर अहमदको बुधबार बेलुका ७ बजेतिर, ५४ वर्षका एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजेतिर ज्यान गएको हो । उनीहरु तीनै जना दाजुभाइको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । उनीहरु तिनै दाजुभाई संगालमा नै बस्दै आएका थिए । सात दाजुभाइमध्ये तीन दाजुभाइको ज्यान गएपछि अब चार दाजु भाइ बाँकी छन् । कोरोनाका कारण ज्यान गुमाएका तीन दाजुभाइले नेपालगञ्जमा रंगरोगनको काम गर्दै आएका थिए ।

घटना नम्बर ३
शवदाह गृह अपुग भएपछि कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाएको दृश्य केही दिनअघि भाइरल भयो । संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको सुरक्षाकर्मीको टोलीले बागमती किनारमै शव जलाएको घटनाले पनि नेपालको अवस्था कुन गतिमा अघि बढ्दै छ भन्ने पुष्टि हुन्छ । पशुपति क्षेत्र विकास कोषका एक सदस्यका अनुसार शवदाह गृहले धान्न नसकेपछि शव बागमती किनारमा जलाइएको हो ।
लामो समय पालो कुर्नुपर्ने भएपछि शवदाह गृह नजिकैको बागमती नदी किनारमा शव जलाइएको दृश्यले तपाई हामी सबैलाई मर्माहत बनायो । उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ ।

घटना नम्बर ४
बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको ज्यान गएको खबर सनसनीपूर्ण रुपमा फैलियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षका पुरुषको ज्यान गएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको हो । ३÷४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएका उनले स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको भएन । औषधी खाँदासमेत निको नभएपछि उनी नेपालगञ्जमा रहेको नेपालगञ्ज मेडिकल कलेज गएका थिए । अस्पताल पुग्दा अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले । अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने डाक्टरहरु बताउँछन् । स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उनीसँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको दृश्यले सबैको मन रुवायो ।

घटना नम्बर ५
सरकारले कोरोना संक्रमित बिरामीका उपचारमा अक्सिजन अभाव हुन नदिने भनेर बारम्बार भनिरहेको छ । अक्सिजनको आवश्यक बन्दोबस्त मिलाइएको र अहिले नै समस्या नरहेको भनेर अहिले पनि भनिरहेकै छ । तर बिडम्बना काठमाडौं उपत्यकाभित्र नै अक्सिजन नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको छ ।
अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा भक्तपुरमा एकैसाथ दुई कोरोना संक्रमितको ज्यान गएको छ । भक्तपुर कौशलटारमा रहेको भक्तपुर इन्टरनेसनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमितको अस्पतालमा अक्सिजन सकिएपछि ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै उनीहरुको ज्यान गएको हो । एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको ज्यान गुमाएकाका आफन्तले बताएका छन् ।

घटना नम्बर ६
कोही व्यक्ति उपचार नपाएर मर्न नपर्ने भनेर सरकारकै जिम्मेवार व्यक्तिहरुले भनिरहेका छन् । तर, ३ वटा अस्पताल चाहर्दा चाहर्दै बिरामीले ज्यान गुमाइरहनुपरेको छ ।
धनुषामा कोरोना लक्षण देखिएका एक बिरामीको उपचार नपाएर ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका स्थायी घर भएका, तर पछिल्लो केही वर्षदेखि बटेश्वर नगरपालिका–४ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको मंगलबार ज्यान गएको हो ।
चाररपाँच दिनदेखि रुघाखोकी तथा ज्वरो औषधि खाइरहेका परियारलाई सोमबार साँझ ८ बजेतिर श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जनकपुरको प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पतालमा आइसियू बेड खाली नभएको भन्दै फर्काइयो । परियारलाई राति नै स्थानीय जानकी हेल्थ केयरमा उपचारका लागि लगियो । परियारसँगै रहेका कुरुवाले उपचार गराउनुभन्दा पूर्व नै आइसियूमा राखेर उपचार गर्दा लाग्ने खर्चबारे जिज्ञासा राखे ।

उपचार महँगो रहेको भन्दै त्यहाँबाट परियारलाई जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालनजिकै रहेको रामजानकी हस्पिटल लगियो । त्यहाँ पनि उपचार महँगो रहेको, आफूले त्यति महँगो उपचार गराउन नसक्ने भन्दै परियारले गाउँमै लिएर जान आग्रह गरेको एम्बुलेन्सचालकले बताए ।

निजी अस्पतालमा उपचार गराउन पैसा थिएन र सरकारी अस्पतालमा बेड नभेटेपछि उनी बिनाउ पचार घर फर्के । जनकपुरमा कुनै अस्पतालमा भर्ना नभएपछि गाउँकै बटेश्वर बजारमा रहेको आरपी मेडिकल हलमा उपचारका लागि पुग्दा परियारको ज्यान गएको हो । तर सरकारका अधिकारीहरु अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउनु नपर्ने भनिरहेको छ ।

घटना नम्बर ७
अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षका पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए । दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा शय्या अभाव भएपछि पेटीमा अक्सिजन जोडेर उपचार सुरु गरियो । कोरोना पुष्टि भएपछि उनले बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएननन् ।

संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल र्पुयाइयो । त्यहाँ र्पुयाएको दुई घण्टापछि उनको ज्यान गयो । ‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ?’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’

यति घटना थाहा पाएपछि स्पष्ट बुझ्न सकिन्छ, नेपालको अवस्था कस्तो छ ? भनेर । दिनमा १० हजारभन्दा कम संक्रमित थपिँदासमेत कोरोना संक्रमितले अक्सिजन र बेड नपाएर अकालमै ज्यान गुमाइरहनुपरेको छ भने अवस्था थप बिग्रदै गयो भने हालत के होला ? कतिपय अस्पतालले थप कोरोना संक्रमितको भर्ना लिन नसक्ने भनेर विज्ञप्ती नै निकालिसकेका छन् ।

अक्सिजन अभाव सुरु हुँदासमेत सरकारी संयन्त्र अक्सिजनको सिलिन्डर खोज्नमै समय बिताइरहेको छ । यस्तो अवस्थामा तपाई हामी आफैं सुरक्षित हुने हो । अति आवश्यक नपरेसम्म घरबाहिर ननिस्कौँ ।


प्रतिक्रिया दिनुहोस