ताजा समाचार


आफ्नै आमाबाट गीत संगीत सिकेका प्रेमध्वज प्रधानको जीवन कथा (भिडियोसहित)

शुशिला विश्वकर्मा २४ बैशाख २०७८, शुक्रबार ०६:४६ (2 महिना अघि)    २९८ जनाले पढ़िसके

काठमाडौं । बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको यो गीत नसुन्ने प्राय कमै होलान् । धेरैको मनमस्तिस्कमा गुन्जिएको गीत हो यो । उनै प्रेमध्व्ज प्रधान अब यो संसारमा रहनुभएन । प्रधान एक समय निक्कै चर्चित र स्टाइलिस गायकका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाउ फूलहरू’ जस्ता थुप्रै चर्चित गीतहरु अहिले पनि सुनिने गरिन्छ । आज हामी तिनै व्यक्ति प्रेमध्वज प्रधानबारे कुरा गर्दै छौँ ।

१९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट उहाँ जन्मनुभएको थियो । उहाँको घरमै सांगीतिक माहोल थियो । उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुची राख्नुहुन्थ्यो ।

उहाँको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उहाँको पनि संगीतप्रति रुची बढ्न थालेको थियो ।

२००२ सालदेखि विश्वनिकेतन माविबाट औपचारिक शिक्षाको शुरुवात गर्नुभएका प्रेमध्वजको नाम त्यतिबेला गणेशध्वज थियो । निकै सुन्दर र आकर्ष देखिने उहाँलाई यस्तो नाम सुहाएन भनेर उक्त स्कलका प्रधानअध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम प्रेम राखेर प्रेमध्वज बनाइदिनुभएको थियो ।

२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उहाँको औपचारिक संगीत यात्रा सुरु भएको थियो ।

गोरेटो त्यो गाउँकोु, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिनुभएका प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिनुहुन्छ ।

आमा जीवित रहुन्जेल प्रवेमध्वजका गीतको पहिलो स्रोता आमा नै रहनुभएको थियो । गीत सुनेर प्रेमध्वजलाई आमाले नै सुझाव दिइरहनुहुन्थ्यो । गायकका रुपमा जेजति पहिचान छ, त्यो आमाकै देन हो भनेर प्रेमध्वज प्रधान भनिरहनुहुन्थ्यो ।

२०१० सालतिरको कुरा हो । एकदिन सपनामा प्रेमध्वजले एउटा मन्दिर देख्नुभयो । मन्दिरमा गणेशलाल श्रेष्ठ तबला बजाइरहनुभएको थियो । बिहान ब्युँझनेबित्तिकै प्रेमध्वजले सपनाबारे आमालाई सुनाउनुभयो । आमाले भन्नुभयो, ‘अब उहाँसँगै संगीत सिक्न जाऊ’

 

दुवै आँखा देख्न नसके पनि वाद्यवादनमा गणेशलाल श्रेष्ठको क्षमता अद्भूत थियो । आमाको आज्ञाअनुसार प्रेमध्वज गणेशलाल गुरूकहाँ जान थाल्नुभयो । पाटन घर भए पनि उहाँ असन, बालकुमारी बस्नु हुन्थ्यो । बिहान सातै बजे गणेशलालको कोठामा पुग्न थाल्नुभयो प्रेमध्वज ।

सात बजेदेखि नौ बजेसम्म सारेगमुको आरोह, अवरोह अभ्यास गर्न थाल्नुभयो । नियमित अभ्यासले उहाँको श्वर पनि खुल्दै आयो ।

तबला बजाउन त अलिअलि घरमै सिक्नुभएको थियो । त्यस बेलाका गुरू–चेलाबीच कुराकानी गर्ने चलन खासै थिएन । सूर, ताल र राग अभ्यास गर्दै प्रेमध्वजले गणेशलाल गुरुसँग १५ महिना बिताउनुभयो ।

त्यस बेला गुरूलाई मासिक पारिश्रमिक दिने चलन बसिसकेको थिएन । संगीत सिकेवापत प्रेमध्वजले आफ्ना गु्रुलाई असन, बालकुमारीबाट सिंहदरबारसम्म लैजानुपथ्र्यो ।

गुरूलाई पुर्याउन मात्रै होइन, फर्किँदा लिन समेत रेडियो नेपाल पुग्नुहुन्थ्यो । हप्ताको दुई–तिनपटकसम्म उहाँलाई ल्याउने र पुर्याउने काम गर्न थालेपछि उहाँको माया पनि बढ्दै गयो ।


गुरूसँग संगीत सिक्ने रहर बाँकी नै थियो । तर बुबाको कपडा पसलमा समय दिनुपर्यो । उहाँले गुरुसँग कक्षा लिन छाड्नुपर्ने भयो । बुबाको कपडा पसलमा बस्दै कखरा सिक्नतिर थाल्नुभयो ।

गुरुकोमा जान छोड्नुअघि प्रवेमध्वजले गुरू दक्षिणा स्वरुप एउटा कोट उपहार दिनुभएको थियो । आफू गायक भएका कारण प्रेमध्वज रेडियो नेपालमा गायकको रुपमा जागिर खान चाहनुहुन्थ्यो । यसका लागि उहाँले निक्क्ै प्रयाु गर्नुभयो ।

मासिक तलब ९० रुपियाँ पाउने ठाउँमा ४५ मात्रै लिन्छु भन्दा पनि उहाँले रेडियोमा जागिर पाउनुभएन । जागिरको खोजीमा भौतारिरहेका प्रेमध्वजले २०१७ सालदेखि अमेरिकी सूचना केन्द्रमा टाइपिष्टको जागिर पाउनुभएको थियो । त्यसपछि उहाँले रेडियो नेपालमा तारादेबीसँग गित रेकर्ड गराउनुभयो ।

आमा र गणेशलाल गुरूपछि संगीतबारे ज्ञान दिने मान्छे भारतीय संगीतकार जयदेव रहेको प्रेमध्वज बताउनुहुन्थ्यो । बाल्यकालदेखि नै हिन्दी सिनेमाका गीतको प्रभावमा उहाँ हुर्कनुभएको थियो ।

२०२३ सालमा रिलिज भएको बिएस दथापाले निर्देशन गरेको ‘माइतीघर’ सिनेमा अधिकांश कलाकार र प्राविधिक भारतीय थिए । यही सिनेमाका लागि पाश्र्व गायक खोज्न संगीतकार जयदेव काठमाडौं आइपुग्नुभएको थियो । उहाँ न्युरोडको पारस होटलमा बस्नुहुन्थ्यो ।

प्रेमध्वजले जयदेवकै अगाडी हिन्दी सिनेमा ‘दोस्ती’ का चारवटा गीत गाइदिए । प्रवेमध्वजको श्वर जयदेवलाई अति नै मन पर्यो ।

त्यस बेला प्रेमध्वजले अमेरिकन लाइब्रेरीमा काम सुरू गरिसक्नुभएको थियो । एक महिना विदा मागेर उत्साही हुँदै उहाँ गीत रेकर्ड गर्न भारतको बम्बई जानुभयो । ‘माइतीघर’मा उहाँले गाउनुभएको गीत हो ‘नमान लाज यसरी’ । यस गीतमा प्रेमध्वज प्रधान र उषा मंगेशकरको युगल गायन रहेको छ ।
०६ बम्बै ।
जयदेवले बम्बईको सिनेमा र संगीतको काम कसरी हुन्छ भन्ने बुझाउन धेरै सहयोग गरेको प्रेमध्वज प्रधान बारम्बार भनिरहनुहुन्थ्यो । सुगम संगीत र पाश्र्व गायनका लागि चाहिने टेक्निकहरु उहाँले जयदेवबाट नै सिक्नुभएको थियो । जयदेव बलिउड संगीतमा तीन वटा राष्ट्रिय अवार्ड जित्ने पहिलो संगीतकार हुनुहुन्थ्यो ।

प्रेमध्वज प्रधान नेपाली सङ्गीतको आकासमा कहिल्यै नअस्ताउने एउटा चम्किलो तारा हुनुहुन्छ । उहाँको भौतिक शरिर अब हामीमाज नरहेपछि उहाँको स्वरमा सजिएका सुमधुर गीतहरुका माध्यमले नेपाली श्रोताहरुले अनन्तकालसम्म सम्झिरहनेन् ।

प्रेमध्वज प्रधानले जीवनको अन्तिम घडीमा एउटा सन्देश छाडेर जानुभएको छ – कसैले केही भन्यो भन्दैमा आफू जाई लागिहाल्ल्ने नगरौँ । सकेको सहिदियो भने त्यो जस्तो सुन्दर जीवन अरु केही पनि हुँदैन । धेरै होइन, एकचोटी मात्रै सहिदियो भने पनि जीवन यसयै सहज भएर जान्छ ।

८५ वर्षको उमेरमा काठमाडौंको सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारको क्रममा निधन हुनुभएका प्रेमध्वज प्रधानप्रति हार्दिक श्रद्धासुमन ।।


प्रतिक्रिया दिनुहोस