ताजा समाचार


नेपालमा कोरोना: विद्यालयसहित अरु सार्वजनिक क्षेत्र बन्द गर्न सिफारिस , २५ जनाभन्दा धेरै भेला हुन बन्देज

नेप्लिज संवाददाता २७ चैत्र २०७७, शुक्रबार १५:३७ (1 महिना अघि)    १८६ जनाले पढ़िसके

काठमाडौं । भारतमा देखिएको दोस्रो लहरको कोरोना संक्रमणको असर नेपालमा पनि देखिएको छ । भारतमा हरेक दिन कोरोना संक्रमित १ लाखभन्दा धेरैले बढ्न थालेसँगै नेपालमा पनिप संक्रमित बढ्न थालेको छ । खुल्ला सिमानाकाका कारण भारतको प्रत्यक्ष असर नेपालमा पर्ने गरेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसागे सरकारले विद्यालयसहित अरु सार्वजनिक क्षेत्र बन्द गर्ने तयारी गरेको छ । कोरोना भाईरसको दोस्रो लहर फैलन सक्ने भएकोले विद्यालयसहित अरु सार्वजनिक क्षेत्र बन्द गर्ने तयारी भएको हो ।

२५ जनाभन्दा बढि भेला हुने क्षेत्र र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थान बन्द गर्न बुधबार नै सिसिएमसीलाई सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

सरकारले गरेको सिफारिस अनुसार सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस र स्वीमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । छिमेकी देश भारतमा पछिल्लो समय संक्रमण उच्च दरमा बढिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै सरकारले विशेष सावधानीको उपाय अपनाउन खोजिएको हो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।

मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उनको भनाइ छ

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए ।

त्यसका लागि भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए ।

यस्तै भीडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि गौतमको भनाइ छ ।

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शंकास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताए ।

पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि प्रवक्ता गौतमले बताए । त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि उनले बताए ।

गत वर्षभन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतमको भनाइ छ ।

गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको तर यसपटक औषधिभन्दा पनि अक्सिजन र रोगसँग लड्नुपर्ने अन्य सामग्रीहरुको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले सोहीअनुसारको तयारी गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस