काठमाडौं । बाराको परवानीपुर गाउँपालिका(१ अन्तर्गतको बुनियाद(नितनपुर सडक किनारका टहरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रासमा बाँचिरहेका छन् । राजस्व छली गर्ने गिरोहले उनीहरूका कागजपत्र दुरुपयोग गर्दै कम्पनी खडा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मजदुरी गरेर पेट पालिरहेका निमुखा दोषी बनेका छन् ।
सडक किनारको टहरोमा बस्ने उमाशंकर राय भर अपांगता भएका व्यक्ति हुन् । एउटा आँखा देख्दैनन् । ठगी गर्ने गिरोहले उनका नाममा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गरेर कर छली गरेको छ । दुवै कम्पनीको गरेर २७ करोड ९० लाख ५१ हजार पाँच सय ५२ रुपैयाँ कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
अदालतको पत्र आएपछि स्थानीय वकिलको सल्लाहअनुसार काका रूपनारायण राय भरसँगै उमाशंकर कुरा बुझ्न काठमाडौंस्थित राजस्व कार्यालय गएका थिए । तर, उनलाई त्यहीँबाट पक्राउ गरेर नख्खु कारागार चलान गरियो । अहिले पनि उनी कारागारमै छन् । ‘हामी गरिबलाई फसाइयो, भतिजालाई लिएर बुझ्न गएको थिएँ, उसलाई उतैबाट समातेर जेल हाल्यो,’ रूपनारायणले भने, ‘गरिबको कोही भएन ।’
ठगी गिरोहका सदस्यले उमाशंकरलाई जागिर लगाइदिने आश्वासन दिएर केही वर्षअघि काठमाडौं लगेका थिए । उनलाई काठमाडौंको सुन्धारास्थित होटेलमा चार–पाँच दिन राखियो । नागरिकता मागे, केही कागजपत्रमा हस्ताक्षर गराए । र, एक हजार पाँच सय गाडीभाडा दिएर ‘पछि खबर गर्छु’ भन्दै घर पठाए । अदालतको पत्र आएपछि मात्रै उमाशंकरले आफूलाई फसाइएको पत्तो पाए ।
यही बस्तीको अन्तिममा छ रामबाबु सहनीको टहरो । उनको नाममा दर्ता गरिएका तीनवटा कम्पनीले करोडौँ राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । जेनतेन परिवार पालिरहेका रामबाबुलाई आफ्नो नाममा कम्पनी छन् भन्नेसमेत थाहा थिएन । अदालतको पत्र आएपछि मात्रै उनले त्यसको जानकारी पाए, अहिले त राज्यको नजरमा उनी फरार अभियुक्त बनेका छन् । नयाँपत्रिका दैनिकबाट