ताजा समाचार


विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको चिनियाँ कोरोना खोप भोली नेपाल आइपुग्ने

नेप्लिज संवाददाता १५ चैत्र २०७७, आईतवार १६:५८ (2 हप्ता अघि)    ८३ जनाले पढ़िसके

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमवार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पनि नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी बेइजिङ आइपुगेको र केही दिनमै नेपालमा आउने जानकारी गराएको छ ।

सोमवार नेपाल आइपुग्ने ठानिएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ।

यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ। चीनबाट आठ लाख मात्रा खोप नेपाल ल्याउन लागएिको हो ।

नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ।

सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ। सहप्रवक्ता अधिकारीले खोप आइसकेपछि मन्त्रालयले कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने तय गर्ने जानकारी दिए।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार सरकारले चाँडै नै उक्त खोपबारे निर्णय गर्नेछ।

अधिकारीहरूका अनुसार अहिले नै ठूलो सङ्ख्यामा खोप उपलब्ध नभइसकेकाले सकेसम्म बढी संवेदनशील र खोपको आवश्यकता भएको समूहका व्यक्तिहरूलाई उक्त खोप दिइनेछ।

राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त चिनियाँ खोप डब्लूएचओको निर्णयपछि प्रयोग गर्न सुझाव दिएको समितिका अध्यक्ष रमेशकान्त अधिकारीले बताए । उनका अनुसार चिनियाँ खोप नेपाल आएर सरकारले कसलाई उक्त खोप दिने भन्ने निर्णय गरुन्जेल डब्लूएचओको निर्णय पनि आउने अपेक्षा गरिएको छ।

यसै महिना मार्चको अन्त्यसम्ममा उक्त खोपले आकस्मिक प्रयोग अनुमति पाउनसक्ने डब्लूएचओका अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताइसकेका छन्।

आइतवारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोनाभाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन्। त्यो भनेको नेपालको कुल जनसङ्ख्याको ५.९३ प्रतिशत हो।

पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउन पाउनेछन् । अहिले नेपालमा करिब साढे पाँच लाख मात्रा खोप बाँकी रहेको छ भने भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट १० लाख मात्रा आउन बाँकी छ। बीबीसले खबर लेखको छ ।


प्रतिक्रिया दिनुहोस