ताजा समाचार


ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिर

नेप्लिज संवाददाता १८ फाल्गुन २०७७, मंगलवार ०६:४५ (5 महिना अघि)    ४०३ जनाले पढ़िसके

विराटनगर । ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिरको खबर छ । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरु पयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।

गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्। उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।

गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन्। ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन्।’ उपाध्यक्ष सरदारका अनुसार जनप्रतिनिधि र कर्मचारी अन्य प्रदेशका स्थानीय तहको अध्ययन भ्रमण भन्दै गएका हुन्। ‘अन्य प्रदेशका स्थानीय तहसँग अनुभवबारे अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमण नराम्रो होइन तर खर्च गर्ने प्रक्रिया गतल नै हो’, सरदारले भनिन्।

जनप्रतिनिधि र कर्मचारीबाहेक अरू पनि भ्रमणमा सहभागी हुने भएपछि आफूले यात्राको एक दिनअघि मात्र रद्द गरेको उनले सुनाइन्। जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वाभाविक भए पनि भ्रमण सूचीमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगन गरेको उनको भनाइ छ। भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीले परिवारका सदस्यलाई पनि लगेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष कामतले गाउँपरिषद्का बेला जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरी बजेट विनियोजन गरिएको प्रतिक्रिया दिए। बजेट पुस्तिकामा भने ज्येष्ठ नागरिक अध्ययन भ्रमण भन्ने पर्न गएको कामतको भनाइ छ। अन्नपूर्णपोष्ट दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस