ताजा समाचार


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को मुद्दा, यस्तो छ अभियोग

नेप्लिज संवाददाता १३ माघ २०७७, मंगलवार १६:०९ (1 महिना अघि)    १०२ जनाले पढ़िसके

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणालगत्तै मुद्दा खेपिरहेका छन् । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सर्वोच्चमा मुद्दा विचाराधिन अवस्थामा छ । यस विषयमा संवैधानिक इजलासमार्फत बहस चलिरहेको छ । सर्वोच्चमा यो मुद्दा विचाराधिन रहेकै बखत उनले फेरि अर्को मुद्दाको सामना गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

मंगलबार वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता गराएका हुन्े । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा मुद्दा दर्ता भएका सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ ।

आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै यसअघि दर्ता गरेको थिएन । प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने शब्द प्रयोग गरेर प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको वरिष्ठ अधिवक्ता आचार्यले आरोप लगाएका छन् । उनले ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस