काठमाडौं । भारतले अनुदानको रुपमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया काठमाडौं आइपुगेको हो ।भारतले पहिलो चरणमा नेपाललाई कोभिसिल्ड खोप उपलब्ध गराएको हो । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइने जानकारी गराएका छन् ।
यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ ।