ताजा समाचार


सगरमाथाको उचाइ बढ्यो की घट्यो ? नेपाल र चीन दुबै देशमा आज एकैचोटी नयाँ उचाई सार्वजनिक

नेप्लिज संवाददाता २३ मंसिर २०७७, मंगलवार ०६:५० (4 महिना अघि)    ४४५ जनाले पढ़िसके

काठमाडौं । विश्वको सर्वोच्च शिखरको रुपमा रहेको सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै छ । नयाँ उचाई सार्वजनिक हुने भएसँगै सगरमाथाको उचाई पहिलेको भन्दा बढ्यो अथवा घट्यो होला भन्ने चासो सबैमा बढेको छ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्न लाथिएको हो ।

फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताएका छन् ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

२०७२ सालको भूकम्पपछि नापी विभागले गरेको सर्वेक्षण अनुसार काठमाडौका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । यसलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसपछि भारतले सगरमाथाको उचाइ नाप्न खोजेको थियो तर नेपालले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको सुझावसमेत लिएर आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणासहित काम अगाडि बढाएको हो । गत वर्ष डिसेम्बरमा नै उचाइ सार्वजनिक गर्ने गरी समय तोकिएको थियो । तोकिएको समयमा काम हुन नसक्दा करिब एक वर्ष ढिलो हुन गएको मंगलबारको गोरखापत्र दैनिकले खबर लेखेको छ ।


प्रतिक्रिया दिनुहोस