रुकुम पश्चिम । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका ४ का सन्दीप विकको पनि शव फेला परेकाे छ । उनकाे भेरी नगरपालिकाको कालाभुर नजिक शव फेला परेको प्रहरीले जनाएकाे छ । योसँगै पाँच जनाको शव फेला परेको छ ।
एकजना अझै बेपत्ता छन् ।
गएकाे शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ काे सोती गाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा बिहीबार प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् ।
आक्रमणपछि बेपत्ता भएका ६ जनामध्ये नवराज विक, भेरी नगरपालिका ४ रानागाउँका गणेश बुढा, चौरजहारी १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्जु विकको भेरी नदीमा शव फेला परेको छ ।